Hamro Sanchar

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीले भने- म माथि पनि छानबिन होस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ७ गते


काठमाडौं, जेठ ७- प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत देशमा पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको हात नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए ।

प्रतिनिधसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएका छन् । कसैलाई फसाउन वा कसैको पद रिक्त गराउनका लागि सरकार लागिपरेको उनको दाबी छ । उनले बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको पनि बताए ।

आफ्नो प्रधानमन्त्री कार्यकालमा केही पनि नभएको बताउँदै ओलीले आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् । ‘म चुनौतीका साथ भन्न चाहन्छु म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ । छानबिन होस्, छानबिन गरियोस्, म चुनौतीका साथ भन्न चाहन्छु । हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौं । छानबिन होस् भन्ने पक्षमा छौं,’ उनले भने, ‘कोही पनि दोषी छुट्नुहुँदैन तर अहिले निर्दोष फसाउन प्रयास भइरहेको छ । म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने निर्दोष फसाउने यसप्रकारका प्रयास नगर्दा हुन्छ ।’

आफू प्रधानमन्त्री भएको बेला उक्त प्रकरणमा केही पनि नभएको ओलीको भनाइ थियो । ‘मेरो समयमा केही पनि गएको छैन । छानबिन गर्नुस् फेरि पनि । मेरो समयमा केही गएको छैन । एउटा समिति बनेछ । त्यो समितिले केही प्रस्ताव पठाएछ । मैले अध्ययन गर्न भनेर राखेँ‚ होल्ड गरे र मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाए,’ उनले भने ।

नक्कली शरणार्थी प्रकरणमा एमालेको नाम लिन केहीलाई रहर लागेको भन्दै ओलीले त्यस्तो गरिएमा पार नलाग्ने चेतावनी दिएका छन् । ‘एमालेको नाम लिन रहर लागेको छ । एमालेलाई गाली गर्न रहर लागेको छ । केपी ‌ओलीलाई गाली गर्न रहर लागेको छ । रहर गर्नु मात्रै होइन रहेछ जिन्दगी, पार लाग्दैन,’ उनको चेतावनी थियो ।

पूर्वप्रधानमन्त्री ओलीले नक्कली शरणार्थी प्रकरणको छानबिन गरेको भन्दै फुर्ती नलगाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि सुझाव दिएका छन् । उनले आफै बन्ने कामका लागि पनि प्रधानमन्त्री र गृहमन्त्रीले जश लिइरहेको भन्दै असन्तुष्टि जनाए । ‘सरकारबाट भ्रष्टाचार विरोधी च्याम्पियन आफू भएको भनेर कत्ति न बाघ मारेको जस्तो गरिरहेको छ । उधुम हल्ला गरिराख्या छ । गृहमन्त्रीज्यू उधुम हल्ला गरिराख्नुभएको छ । यसमा सरकारले जुँगामा ताउ लगाउनुपर्ने कुनै आवश्यकतै देख्दिनँ म । यो काण्ड अगाडिदेखि चलिराख्या रहेछ,’ ओलीले भने ।

ओलीले शीर्ष तीन राजनीतिक दलका नेताहरू बस्दा पनि अनावश्यक आलोचना हुन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता बस्दा सन्देह पैदा गरिएको ओलीले बताए । उनले संसद् संचालन, कानुन निर्माणलगायतका विषयमा तीन दलका नेताहरू बसेको भन्दै अनावश्यक सन्देह पैदा गर्ने काम नगर्न आग्रह गरेका थिए ।


प्रतिकृया दिनुहोस्