
काठमाडौं, जेठ ४- प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर हुँदैछ ।
सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक मुलुकमा उठेका विविध विषयमा आधारित रहेर प्रश्न गर्न लागेका हुन् ।
प्रतिनिधि सभाका बुधबारसम्म २० जना सांसदले प्रश्नबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको संसद् सचिवालयले जानकारी गराएको छ ।
प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) भएको व्यवस्थाअनुसार आजको बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने छन् ।
प्रश्न गर्न चाहने सांसद्ले विषयवस्तुसहित ३ दिनअगावै जानकारी गराउनुपर्ने छ ।
प्रतिनिधि सभाको नियमावलीमा महिनाको एकपटक प्रश्नोत्तर गर्ने सक्ने व्यवस्था उल्लेख भए पनि मौजुदा संसद्मा पहिलोपटक प्रश्नोत्तर हुन लागेको हो ।
१५ जना सांसदमध्ये सत्ता साझेदार दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ३/३जनाले सांसदले प्रश्न गर्न पाउने छन् । अहिलेसम्म सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका भने १/१ जना सांसदले प्रश्न गर्नेछन् ।