Hamro Sanchar

टोपबहादुर सोह्रखुट्टे वृत्तको हिरासतमा, अदालत लग्ने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १ गते


काठमाडौं, जेठ १- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो । पक्राउ गरेर उनलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

उनलाई सोमबार जिल्ला अदालत काठमाडौंमा लगिँदैछ । म्याद थपका लागि उनलाई अदालत लग्न लागिएको हो ।

यस प्रकरणको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो । अहिलेसम्म रायमाझीसहित १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी छन् ।

उनीहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान भइरहेको हो । यस कसूरमा ६० दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्