
काठमाडौं, बैशाख ३१- नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको स्रोतले जानकारी दिएको छ ।
स्रोतले दिएको जानकारीअनुसार रायमाझी भारतमा रहेको आशंका गरिएको छ । तर कतिपयले भने उनी काठमाडौंमै रहेको बताउँछन् । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको स्रोत बताउँछ ।
वैशाख २० गते अर्घाखाँचीबाट काठमाडौं आउँदै गरेका रायमाझी बुटवलबाट फरार भएका थिए ।
प्रकरणमा आज थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली कांग्रेसका पूर्वसभासद आङ्वाटा शेर्पा र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्नका लागि पुर्जी जारी गरिएको हो ।
हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् ।