Hamro Sanchar

गालीगलौजको राजनीति नगरौँ : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १४ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् । बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए ।

सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी । हाम्रो ओठमा मुस्कान र हातमा फूल छ, लामिछानेले भने, हामीले गालीगलौज गर्न सुहाउँदैन । त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ ।

उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताए । मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उनले आफूहरू सच्चिनुपर्ने ठाउँहरू केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने बताए । अरु दलको आलोचनामा नगर्ने लामिछानेको भनाइ छ ।

सामाजिक सञ्जालमा आफूहरूलाई माया गर्ने नाममा अन्य दलहरूप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए । सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैँ अग्रपङ्तिमा रहेर काम गर्ने बताए ।

यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताए । विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उनले बताए ।


प्रतिकृया दिनुहोस्