Skip

Hamro Sanchar

ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन : ज्ञानेन्द्र शाही

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २३ गते


काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले विदेशबाट ऋण ल्याएको ल्यायै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ अहिलेसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले भन्नुभयो, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक-एक हिसाबकिताब अहिलेका प्रधानमन्त्रीहरूले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेको पैसा कहाँ गयो ?’

सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै सङ्घीयताको विरोध गर्नुभयो । उहाँले सङ्घीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको टिप्पणी गर्नुभयो । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो । यदि एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु-प्रदेश एउटा पहिचानका लागि चाहिन्छ, ठूलो देश भयो भने केन्द्रीकरण गर्न चाहिन्छ । तर आज देशमा सङ्घीयता कार्यकर्ता भर्ती गर्ने, कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश, विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’


प्रतिकृया दिनुहोस्