Hamro Sanchar

सौराहमा अज्ञात समूहले काट्यो हात्तीको सुँड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २२ गते


चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सुँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।

सौराहाका पर्यटन व्यावसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड काटिएको हो । ‘काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा छ,’ खतिवडाले भने, ‘यस्तो आपराधिक काम गरेर निर्दोष जनावरलाई दुःख दिने कस्ता मान्छे होलान् ?’

हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको खतिवडाले बताए । हात्ती पीडाले कराएपछि हेर्न जाँदा सुँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ । उनले हात्तीलाई मार्ने उद्देश्य राखेर नै सुँड काटिएको हुनसक्ने बताए ।

हात्तीको सुँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्