Hamro Sanchar

नगरप्रमुख कार्कीसहित कागेश्वरी मनोहराका ६३ जनाले गरे अंगदानको घोषणा

प्रदिप नेपाली प्रकाशित : २०७९ चैत्र, २१ गते


Advertisement

काठमाडौं, चैत २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीसहित ६३ जना नगरबासीले ‘मरणोपरान्त अंगदान’ घोषणा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाको आयोजनामा आज भएको अंगदान घोषणा कार्यक्रममा नगरप्रमुख कार्की र उप-प्रमुख शान्ता थापासहित ६३ जना स्थानीयले ‘मरणोपरान्त अंगदान’ घोषणा गरेका छन् ।

उनीहरुले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका प्रतिनिधिहरूसमक्ष अंगदान सम्बन्धी अनुसूची फारममा हस्ताक्षर गरी प्रमाणपत्र लिएका हुन् ।

यीमध्ये ४० जनाले अंगदानको घोषणा गरेका छन् भने २३ जनाले आँखा दानको घोषणा गरेका छन् ।

अंगदान घोषणा गर्नेमा नगरप्रमुख, उप-प्रमुखसहित नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाका सभापति बासुदेव पौडेल, रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सदस्य लक्ष्मी प्रसाद कुइँकेल, रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाका पदाधिकारी, सदस्यहरुसहित स्थानीयहरु रहेका छन् भने आँखा दानको घोषणा गर्नेमा मुलपानी नगर अस्पतालका ब्यबस्थापक सन्तोष तिमिल्सिना, मुलपानी आँखा उपचार केन्द्रका प्रमुख तथा नेत्र सहायक दिवाकर पौडेललगायत स्थानीयहरु रहेका छन् । अंगदान घोषणा गर्नेहरुलाई नगरप्रमुखलगायत अतिथिहरुले प्रमाणपत्र प्रदान गरेका हुन् ।

‘स्वास्थ्य जीवन रक्तदान मरणोपरान्त अंग दान’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाको आयोजनामा अंगदान घोषणा कार्यक्रम भएको हो । कार्यक्रमको ब्यबस्थापन कागेश्वरी मनोहरा नगरपालिकाले गरेको थियो भने प्राबिधिक सहयोग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले गरेको हो ।

नगरप्रमुख कार्कीको प्रमुख आतिथ्य र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ, नगर उप-प्रमुख थापाको बिशेष आतिथ्यमा थलीस्थित आस्था पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका हुन् । रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाको कार्यको प्रशंसा गर्दै नगरप्रमुख कार्कीले यति धेरै व्यक्तिहरुले एकै पटक अंगदान गर्नु ठूलो उपलब्धी र अरुलाई बचाउने भावना भन्दै सबैलाई धन्यवाद दिए । उनले भने, ‘मृत्युपछि शरीर डढेर वा गलेर जान्छ । मृत शरीरलाई कतै न कतै ब्यबस्थापन गर्नु नै पर्छ । त्यसैले मरणोपरान्त अंगदान गर्दा अरू कसैको जीवन बच्छ । अंगदान जीवनदान हो, अंगदान गरेर पुण्य आर्जन गर्न सकिन्छ । मरेपछि खरानी हुने, नास भएर जाने अंग दान गरी अरूलाई पुनर्जीवन दिने पवित्र कार्यबारे धेरैलाई जानकारी छैन । त्यसैले यस्तो पुण्यको कार्यमा आगामी दिनमा पनि एक्यबद्धता तथा सहभागिता जनाउन इच्छुक नगरबासीलाई हार्दिक अनुरोध गर्दछु ।’

यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले नेपालमा १० बर्षको अवधिमा १०४१ जनाको सफल मृगौला प्रत्यारोपण र १० जनाको कलेजो प्रत्यारोपण भएको जानकारी दिए । केन्द्रमा दैनिक १२० देखि १३० जनाको डाइलाइसिस गर्दै आएको उनको भनाइ छ । सरकारले स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै रकम खर्चेको र डाइलाइसिस पूर्ण रुपमा निशुल्क बनाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्‍यो । केन्द्रमा मृगौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’

उनकाअनुसार एक व्यक्तिको अंगबाट १० जना बचाउन सकिने छ ।

अंग प्रत्यारोपण ऐन २०५५ अनुसार जीवित छँदा एउटा मृगौला र कलेजोको केही भाग नजिकको नातेदारलाई दिन र दुई वा दुईभन्दा बढी परिवारको आपसी सहमतिमा साटासाट गर्न सकिन्छ । मरणोपरान्त भने फोक्सो, मुटु, कलेजो, प्यांक्रियाज, मृगौला, सानो आन्द्रा, आँखा, छाला, मुटु भल्भ, हड्डी, नरम हड्डी दान गर्न सकिन्छ । तर त्यस्ता अंगदाताको मृत्यु अस्पतालको आईसीयूमा भइ मस्तिष्क मृत्यु घोषणा भएपछि मात्रै निकाल्न सम्भव हुने डाक्टर श्रेष्ठले प्रष्ट पारे ।

केन्द्रले प्रत्यारोपण गरेको ९९ प्रतिशत सफल भएको उनको भनाई छ ।

घरमा निधन भएकाको भने निर्धारित समयभित्र आँखा दान मात्रै सम्भव हुने उनले बताए । यी अंग प्रत्यारोपणको समय भने फरक छ । मुटु ६, फोक्सो ८, सानो आन्द्रा १०, कलेजो १५, आमासय र मिर्गौला २४ घण्टामा अर्को व्यक्तिलाई प्रत्यारोपण गरिसक्नु पर्छ ।

अंगदान गर्नेका लागि मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ को अनुसूची १९ ले मञ्जुरनामाको व्यवस्था गरेको छ । आधिकारिक व्यक्तिको उपस्थितिमा दायाँबायाँ औंठाछाप लगाइ दस्तखत गरेपछि प्रत्यारोपण केन्द्रले फोटोसहितको प्रमाणपत्र दिन्छ । अनुसूची फारममा बाबु, बाजेको तीनपुस्ते र श्रीमान-श्रीमतिको विवरण खुलाइएको हुन्छ । अंगदान गर्ने वा सम्बद्ध परिवारजनले जीवनको उत्तरार्धमा केन्द्रमा सम्पर्क गर्नुपर्ने उल्लेख छ ।

१८ बर्षभन्दा माथिकाले स्वेच्छाले जानी बुझी आफ्नो नजिकको नातेदारलाई चिकित्सकीय उद्देश्यका साथ मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को अधीनमा रही अंग दान गर्न सक्ने व्यवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस्