एजेन्सी । भारतका पूर्व क्रिकेटर सलीम दुर्रानीको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिमार रहेका दुर्रानीको आज बिहान निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
क्रिकेटसँग जोडिएका संसारका चिरपरिचित व्यक्तिहरूले दुर्रानीको निधनमा उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । आफ्नो जमानामा भारतको उत्कृष्ट अलराउण्डर मानिने दुर्रानीलाई दर्शकको मागमा छक्का वर्षाउने खेलाडी भनेर पनि चिन्ने गरिन्छ ।
भारतीय क्रिकेट टिमका पूर्व कोच एवं खेलाडी रवि शास्त्रीले एक पुरानो तस्वीर ट्विट गर्दै दुर्रानीलाई सम्झिएका छन् । क्रिकेटर भीभीएस लक्ष्मणले एक ट्विटमा लेखेका छन्, कि दुर्रानी अर्जुन अवार्ड पाउने भारतका पहिलो क्रिकेकटर थिए ।