Hamro Sanchar

कागेश्वरी मनोहरामा ‘मरणोपरान्त अंगदान’ घोषणा कार्यक्रम हुँदै, यसो भन्छन् नगरप्रमुख कार्की

प्रदिप नेपाली प्रकाशित : २०७९ चैत्र, १८ गते


Advertisement

काठमाडौं, चैत १८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा मृत्यु पश्चात् अंगदान घोषणा कार्यक्रम हुने भएको छ । ‘स्वास्थ्य जीवन रक्तदान मरणोपरान्त अंग दान’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाको आयोजनामा मंगलबार उक्त कार्यक्रम हुने भएको हो ।

कार्यक्रमको ब्यबस्थापन कागेश्वरी मनोहरा नगरपालिकाले गरेको छ भने प्राबिधिक सहयोग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले गरेको छ ।

थलीस्थित आस्था पार्टी प्यालेसमा दिउँसो १:३० बजेबाट हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

‘मृत्युपछि शरीर डढेर वा गलेर जान्छ । त्यसैले मरणोपरान्त अंगदान गर्दा अरू कसैको जीवन बच्छ । अंगदान जीवनदान हो, अंगदान गरेर पुण्य आर्जन गर्न सकिन्छ । मरेपछि खरानी हुने, नास भएर जाने अंग दान गरी अरूलाई पुनर्जीवन दिने पवित्र कार्यबारे धेरैलाई जानकारी छैन । त्यसैले यस्तो पुण्यको कार्यमा एक्यबद्धता तथा उक्त कार्यक्रममा सहभागिता जनाउन इच्छुक नगरबासीलाई हार्दिक अनुरोध गर्दछु,’ नगरप्रमुख उपेन्द्र कार्कीले भने ।

अंगदान गरेका व्यक्तिले मञ्जुरीपत्रमा मृत्यु पश्चात् शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रासहित अंग झिकी आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मञ्जुरी भएको लिखित कागज गर्नुपर्ने हुन्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १६ को उपदफा १ को खण्ड(ख)मा मृत्यु पश्चात मृत्यु अघि अंग दान गर्ने गरी गरिएको मञ्जुरीनामाका आधारमा उल्लेखित अंगहरु दान गर्न सक्ने व्यवस्था रहेको छ । अंग दान गरिएका व्यक्तिबाट मुटुको भए मृत्यु पश्चात ६ घण्टा, फोक्सो भए ८ घण्टा, सानो आन्द्रा भए १० घण्टा, कलेजो भए १५ घण्टा, अग्नाशय र मृगौला भए २४ घण्टा भित्र अंग निकाली जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।

१८ बर्षभन्दा माथिकाले स्वेच्छाले जानी बुझी आफ्नो नजिकको नातेदारलाई चिकित्सकीय उद्देश्यका साथ मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को अधीनमा रही अंग दान गर्न सक्ने व्यवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस्