Skip

Hamro Sanchar

मन्त्री शर्माको गुनासो : संसद्‍मा महिला भूमिकाको मूल्यांकन भएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २९ गते


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्‍मा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‍मा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताइन् ।

मन्त्री शर्माले संसद्‍मा कानुन निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताएकी थिइन् । साथै संसद्‍मा कोरम पुर्‍याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्त्वपूर्ण रहने गरेको तर त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौं । कति सफल भएका हौँला, कति असफल भएका हौँला । अवसर पाएका पुरुषहरु सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरु पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ । जतिसुकै कष्ट गरेर भए पनि हामी अवसर पाएका महिलाहरु उत्तीर्ण हुनैपर्छ । यस्तै, उनले कानुन निर्माण लगायतका काममा महिलाहरूले महत्त्वपूर्ण भूमिका रहेको तर त्यस अनुरुप चर्चा नभएको बताएकी थिइन् ।

ुहामीले देखेका छौं, संसदभित्र हेर्‍यौं भने हामी कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै कानुन बनाउँदा संशोधन महिलाले नै हाल्छन्, संसद्‍मा कोरम पुर्‍याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ । तर पनि बाहिर आउँदा मूल्यांकन हुँदैन, चर्चासम्म पनि हुँदैन । संसद्‍मा हेरेर सबैभन्दा बढी कानुन बनाउने कुरामा महिला सक्रिय छन् कि पुरुष यसको पनि मूल्यांकन हुनुपर्छ । संसद्‍को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि कसको बढी सहभागिता छ, यस कुरा चर्चाको विषय बन्नुपर्छ,’ उनले भनिन् ।


प्रतिकृया दिनुहोस्