
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले उजुरी दर्ता गराएका छन् ।
बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि निर्वाचन कार्यक्रम तालिका अन्तर्गत उम्मेदवार विरुद्धको दावी विरोधको कार्यक्रम सूरु भएपछि बर्तौलाले यादवको उम्मेदवारी विरुद्ध उजुरी गरेका हुन् ।
उजुरीमा नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६ को ५ अनुसार पनि उपराष्ट्रपतिको लागि उमेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिभन्दा फरक लिङ्ग वा समुदायको हुनुपर्ने उल्लेख भएको जिकिर गरिएको छ।
उजुरीमा भनिएको छ– ‘यस आधारमा समेत राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उमेद्वार हुनसक्छ । यसैले सो पदमा पुरुष उमेदवार हुन सक्दैन ।’
यस्तै नेपालको संविधानको प्रस्तावनामा उल्लेख समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको, संविधानको धारा ३८ को ४ ले महिलालाई सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक स्पष्ट व्यवस्था गरेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति पद दुवैमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले नगरेको विषय पनि औल्याउँदै यादवको उम्मेदवारी खारेजीको माग गरिएको छ ।


















