जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ सांसदले नै विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।
सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी मत परिणाम घोषणा भएपछि मुख्यमन्त्री यादवलाई बधाई तथा शुभकामनासमेत दिए । यसअघि जसपा संसदीय दलका नेता यादव ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कांग्रेसको २२, एमालेको २३, जनमत पार्टीको १३, जसपाको १६, माओवादी केन्द्रको ८ सांसद छन् । यस्तै नेकपा एकीकृत समाजवादीको ७, लोसपाको ९, राप्रपाको १, नेपाल संघीय समाजवादी पार्टीको १, नागरिक उन्मुत्ति, पार्टीको १ र स्वतन्त्र ६ सांसद छन् । आजको मतदान प्रक्रियामा ५ सांसद भने अनुपस्थित भए ।