काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।
यसैबीच प्रधानमन्त्रीको सरकारी निवास छाडेको २१ दिनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन देउवा मंगलवार बालुवाटार गएका हुन् ।
देउवा पुस १२ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेर धुम्बाराहीस्थित एक निजी घरमा सरेका थिए । सभामुखको निर्वाचन लगायत विषयमा छलफल गर्न प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलका नेताहरू सहभागी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत नेताहरू बैठकमा सहभागी छन् ।