
काठमाडौं। पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी शव ४ जना बालबालिका हुन्। ४ जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्। उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए।
रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको बताए। ६८ जनाको शव आइतबार नै रिकभर भएको थियो। शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन्। फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ।
ठाकुरका अनुसार काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ। उनीहरुले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने ठाकुरले बताए। ‘केही शवको सनाखत पनि भएको छ। तर सबै निर्णय फरेन्सिकको टोली पुगेपछि मात्र हुने छ’ उनले भने।