Skip

Hamro Sanchar

निर्माण सुरु भएको १० बर्ष पुग्दा पनि अझै बनेन टेकु पुल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १८ गते


काठमाडौं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैंदेखि पुल अलपत्र छ ।

निर्माणका क्रममा गुणस्तरिय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो । विभागको निर्णयविरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयले ठेक्का तोड्ने निर्णय गरे पनि यस सम्बन्धमा अदालतको निर्णय पछि प्रक्रिया अघि बढाइने कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए । उनले भने, “हामीले प्राविधिक पक्षलाई हेरेर ठेक्का तोडेको हो अदालतको निर्णय के हुन्छ त्यहीअनुसार गर्नुपर्छ ।”पुल निर्माण हुँदा त्रुटि भएकाले डिभिजन सडकले निर्माण कम्पनीलाई सचेत गराएको सूचना अधिकारी केसीले बताए । त्यतिबेला अध्ययन गर्दा सुपर स्ट्रक्चर (डेक्स स्लाप) मा समस्या पाइएको थियो ।

डिभिजन सडक कार्यालयले समस्या भएको ठाउँमा सच्याउन भने पनि त्यसविरुद्ध निर्माण कम्पनी अदालती प्रक्रियामा गएको र पछि कार्यालयबाट ठेक्का तोडेको उनले बताए । उनले भने, “डिभिजनले ठेक्का तोडेपछि कम्पनीले ठेक्का तोड्न र कालोसूचीमा राखिएको विरुद्ध अर्को मुद्दामा गयो ।” पुल प्राविधिक रुपमा त्रुटिपूर्ण भएकाले त्यो तोडेर नयाँ बनाउनुपर्ने भनिएपछि कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राखेपछि कम्पनी सर्वोच्चमा गएको थियो । उनले भने, “अन्तिम फैसला आएपछि नै कसरी अघि बढ्ने भन्ने निर्णय हुनसक्छ ।” पुल निर्माणका लागि आर्थिक वर्ष २०६९/७० को ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले निर्माण सम्पन्न भएको भनेको चारवर्ष वितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माण कम्पनीले हस्तान्तरण गर्न चाहे पनि डिभिजन सडक कार्यालयले पहिले त्रुटि सच्याउन भनेको थियो । निर्माण कम्पनी पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेकाले ठेक्का तोडिएको थियो ।

सङ्घीय राजधानी काठमाडौँमा यो पुलसँगै सोही निर्माण कम्पनीले ठेक्का पाएको तीनकुनेको बागमति पुल पनि लामो समय अवरुद्ध रहेको थियो । त्यो पुलमा पनि निर्माणमा ढिलाइ र भएको काम गुणस्तरिय नहुँदा ठेक्का तोडिएको थियो । अदालती प्रक्रिया टुङ्गिएसँगै अहिले सो पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएको छ ।


प्रतिकृया दिनुहोस्