Hamro Sanchar

चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ८ गते


काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार फ्रान्स निष्कासित भएका छन् । शुक्रबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फ्रान्सका लागि डिपोर्ट गरिएको हो ।

शुक्रबार नै केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरेको हो । केन्द्रीय कारागार सुन्धाराबाट छुटेपछि शोभराजलाई कारागार कार्यालयले शुक्रबार नै अध्यागमन विभागको जिम्मा लगाएको थियो ।

दुई विदेशी नागरिकको हत्या अभियोगमा दोषी ठहर भइ १९ वर्षभन्दा लामो समय काठमाडौंस्थित कारागारमा थुनिएका शोभराजलाई बुधबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो । साथै फैसलामा उनलाई १५ दिनभित्रै फ्रान्स फिर्ता पठाउन पनि अदालतले आदेश दिएको थियो । अरु अदालतमा समेत शोभराज विरुद्ध मुद्दा भए नभएको बुझ्ने क्रममा ढिला भएपछि बिहीबार कारागारबाट रिहाइको प्रक्रिया लम्बिएको थियो ।

२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो ।

शोभराजलाई कम्तीमा १० वर्षसम्म नेपाल फर्कन नपाउने भन्दै प्रतिबन्ध पनि लगाइएको छ । शुक्रबार कतार एयरवेजको उडानबाट उनी कतार हुँदै फ्रान्सका लागि प्रस्थान गरेका हुन् ।


प्रतिकृया दिनुहोस्