Hamro Sanchar

स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङदेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ७ गते


Advertisement

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न सकिने उनले बताए ।

‘सरकार गठनका लागि कुनै दलको बहुमत छैन । हामीले सरकार गठनका लागि अगाडि सारेका पनि छैनौं । ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना छ’ उनले भने, ‘नभए गठबन्धनले नै सरकार बनाओस् । हामी प्रतिपक्षमा बस्न तयार छौं । तर, सरकार बन्न नसक्ने अवस्था आएमा राप्रपाको आवश्यकता परेमा हामी त्यसपछि छलफल अगाडि बढाउँछौं ।’

आफूहरु मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रष्ट पारेका छन् । उनले भने, ‘हामी सरकारमा जाँदा हिजोको अवस्थाभन्दा फरक पर्नुपर्छ । सुशासन र सेवा प्रवाहको हिसाबले आउने सरकारले फरक ढंगको क्रियाकलाप गर्नुपर्छ। त्यो शर्तमा मात्रै कुनै पक्षलाई समर्थन गर्न सक्छौं ।’


प्रतिकृया दिनुहोस्