काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ।कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी गराएको छ।
बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको नेताका लागि चुनाव हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफै उठ्ने तयारी गरेका छन् । संस्थापनइतर पक्षबाट भने महामन्त्री गगन थापाले यसअघि नै संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
साथै संस्थापनइतर समूहका नेता डा। शेखर कोइरालाले पनि दलको नेतामा उठ्ने तयारी गरेका छन् । यद्यपि, संस्थापनइतरबाट एक जनामात्रै उम्मेदवार बनाउनका लागि नेताहरुबीच छलफलसमेत भइरहेको बुझिएको छ ।