काठमाडौं । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो । पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे ।
स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए । ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो । उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे । खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४(० को अग्रता दिलाए । राफायलले रामोसको पासमा गोल गरेका हुन् । ५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए । खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए ।
जोआ फेलिक्सको पासमा गोल गर्दै २१ वर्षीय रामोसले ह्याट्रिक पूरा गरेका हुन् । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो । त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए । उनी ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए ।
यस्तै २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।
दोहाको एजुकेसन सिटी स्टेडियममा मोरक्कोले दर्शकको राम्रो साथ पाउँदा स्पेनलाई १२० मिनेटसम्म गोल गर्न नदिई बराबरीमा रोकेको थियो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए ।
सन् २०१० को विश्व च्याम्पियन स्पेनका भने कसैले पनि गोल गर्न सकेनन् । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पाब्लो साराबियाको प्रहार भने पोलमा लागेर बाहिरियो । त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।
अतिरिक्त समयमा अन्तिम मिनेटमा स्पेनका पाब्लो साराबियाले गोल गर्ने राम्रो अवसर गुमाउँदा स्पेनले जितनजिक पुगेर फर्किएको थियो । अन्तिम समयमा उनले गरेको प्रहार पोलमा लागेर बाहिरिएको थियो । त्यसअघि पनि दुवै टिमले गोलका केही राम्रा अवसर पाएका थिए । तर फिनिसिङ हुन सकेन । यस्तै स्पेनका गोलकिपर उनाई सिमोन र मोरक्कोका यासिन बोनोले पनि केही राम्रा बचाउ गरेका थिए ।
जारी विश्वकपमा पेनाल्टी शुटआउटबाट नतिजा टुङ्गो लागेको यो दोस्रो खेल हो । यसअघि क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ । अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।