Hamro Sanchar

सत्ता गठबन्धनलाई निरन्तरता दिइने

अपेक्षाकृत नतिजा नआएको निष्कर्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १९ गते


Advertisement

काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । बैठकमा मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ । गठबन्धनले बागी उम्मेदवारलाई भने कारबाही गर्नेसमेत निर्णय गरेको छ ।

साथै सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधान सुरक्षित भएको र मुलुकमा राजनीतिक स्थायित्व भएको निष्कर्ष निकालेको छ । बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनःपुष्टि गरेको उल्लेख छ ।

मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ,विज्ञप्तिमा भनिएको छ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरूको सामाना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।

निर्वाचनका क्रममा गठबन्धनभित्र असहयोग र असमझदारीका घटना देखा परेको पनि विज्ञप्तिमा उल्लेख छ । ती घटनालाई आगामी दिनमा समाधान गर्ने निर्णय पनि गठबन्धनले गरेको छ । मतदाताप्रति आभार व्यक्त गर्दै गठबन्धनले भनेको छ, आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौं ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्