बाजुरा । बाजुराको प्रतिनिधि र प्रदेश सभा सदस्यको मतगणना फेरि सुरु भएको छ । विवादपछि बिहानदेखि स्थगित मतगणनालाई पुनस् सुरु गरिएको हो । प्रतिनिधि सभाको मतगणना गर्ने क्रममा एउटा बुथको मत पेटिकामा रेकर्डमा राखिएको भन्दा बढी मत पाइएपछि एमालेले विरोध जनाएको थियो ।
कांग्रेस महामन्त्री बद्री पाण्डेको गृहपालिका हिमाली गाउँपालिका-६ धिममा मुचुल्काभन्दा ३० मत बढी पाइएपछि विवाद भएको हो । रेकर्ड भन्दा बढी रहेका मत गणना नगर्ने सहमतिपछि विवाद मिलेको छ।
यसैगरी, प्रदेश सभा २ को पनि एक बुथको मतमा विवाद भएको थियो। बुढीगंगा-–३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेकोमा कम्प्युटरमा इन्ट्री २ सय ५० भएको थियो। प्राविधिक त्रुटीले त्यस्तो भएको निष्कार्षपछि फेरि मतगणना थालिएको हो।
प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे ५ हजार ३ सय ९९ मतसहित अघि छन् भने एमालेका कर्णबहादुर थापा ४ हजार १ सय ३० मतसहित पछ्याइरहेका छन् । प्रदेशसभा १ मा एकीकृत समाजवादीका नरेश शाही र प्रदेश सभा २ मा एमालेका लालबहादुर थापाले अग्रता लिइरहेका छन्।