Hamro Sanchar

मतदानको समय सकियो : ७:५० मा आयोगको पत्रकार सम्मेलन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानको पूर्वनिर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

यद्यपि ५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरुले केही अबेरसम्म पनि मतदान गर्न पाउने छन् । केही मतदानस्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ ।

दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरस्थित पातु बनगाउँ मतदान केन्द्रमा बेलुका सात बजेसम्मै मतदानको समय तोकिएको छ ।

मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका संकलनको काम जारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने जानकारी दिए ।

दुर्गम हिमाली क्षेत्रका जिल्लाबाट भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले सोमबारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम स्थानका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपेटिका संकलनको व्यवस्था मिलाइएको छ ।

यसैबीच निर्वाचन आयोगले आज राति ७ः५० बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । देशभर भएका निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन बोलाएको हो ।

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएपनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।


प्रतिकृया दिनुहोस्