काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानुुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो ।
आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो ।
शुक्रवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिएका हुन् । उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिएका छन् ।
उनले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् । उनले धेरै मतदान हुनु राम्रो भए पनि हुँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भिर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखी सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरेका छन् । उनले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरूको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरूको नियुक्ति भई तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिएका छन् । उनले मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरूको समान महत्व भएकाले सामानहरू रुजु गर्दा ठिक भए र नभएको र पर्याप्त भए र नभएको यकीन गर्न आग्रह गरेका छन् ।