काठमाडौं, भदौ १९- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रन्जन कोइराला प्रकरणमा रन्जनका छोरा रोइकराई गरेपछि कैद सजाय घटाएको बयान दिएका छन् ।
रन्जन कोइराला फैसलाबारे सोधिएको प्रश्नमा उनले २० वर्ष कैद घटाउनुपर्नाको कारणमा छोरा रोइकराई गरेको तर्क पेश गरेका हुन् ।
‘रञ्जन कोइरालाको मुद्दाका विषयमा न्यायधीशलाई विवेक प्रयोग गर्न दिने ठाउँ हुने भएकोले उनको पारिवारिक अवस्था सुनेर विवेक प्रयोग गरेको हुँ । जवराले यो विषयमा गल्ती गरेको जस्तो महसुस गर्नुभयो’, समितिका सदस्य मीन विश्वकर्माले भने ।
राणाले कोइरालाको मुद्दामा २० बाट घटाएर ८ वर्षमा झारेका थिए । त्यस्तै राणाले उक्त मुद्दामा आफुलाई पछुतो भएको समेत बताएका छन् ।
आइतबार तेस्रो दिनको बैठकमा राणाले ५ वटा प्रश्नको जवाफ दिएका थिए । योसँगै राणाले ४३ मध्ये ११ वटा प्रश्नको जवाफ दिएका छन् ।
राणाको बयान २५ गतेसम्मका लागि स्थगित गरिएको छ । महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो ।