पोखरा, भदौ १३- पोखरा महानगरपालिकाले सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको छ ।
महानगरपालिकाले पोखरा सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको हो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको महानगरपालिकाले जनाएको छ ।
खाली गरिएको अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गर्न महानगरपालिकाले जारी गरेको सूचनामा आग्रह गरिएको छ । महानगरपालिकाको सूचनामा भनिएको छ, ‘पैंतीस दिनभित्र भूमिगत तलालाई खाली गरी पार्किङको रुपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ अन्यथा कानून बमोजिम कारबाही गर्नेछ ।’ पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ । नत्र महानगरले नक्सा पास नै गरिदिँदैन ।
अन्डरग्राउण्ड पार्किङ बनाएमा भने सो तलाको पचास प्रतिशत राजश्वसमेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर घरधनीले घर निर्माण गर्ने गरेका छन् । राजश्वमा छुट पनि लिन्छन् । तर घर निर्माण भइसकेपछि भने अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग भने अधिकांशले गर्दैनन् । बरु त्यो तलालाई उनीहरुले व्यवसायिक प्रयोजन र गोदाम (भण्डार)का रुपमा प्रयोग गर्ने गरेका छन् ।
करिब २५० घरधुरीले अन्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सापास गराउँदै पचास प्रतिशत छुट लिएपनि व्यवहारमा उतारेका छैनन् । २५० मध्ये करीब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गर्ने गरेको पोखरा महानगरपालिकाका इञ्जिनियर सुरेन्द्र पौडेलले बताए ।