Hamro Sanchar

भारतबाट घटेर आएपनि इन्धनको मूल्य घट्दैन : आयल निगम

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ३१ गते


Advertisement

काठमाडौं, साउन ३१- पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ ।

योसँगै इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पनि निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । लगातार तेस्रोपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

तर निरन्तर मूल्य घटेर आए पनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । निगमले आज पत्रकार सम्मेलन गरी भारतबाट मूल्य घटेर आए पनि अझै ऋणको दायित्व धेरै भएकाले हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

आईओसीले मंगलबार नेपाल अयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएकोमा पेट्रोलमा लिटरमा १ रुपैयाँ ९४ पैसा र डिजेलमा ४ रुपैयाँ ८४ पैसा घटेको छ । यसअघि गत साउन १६ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । त्यतिबेला डिजेलमा १२ रुपैयाँ ४५ पैसा र पेट्रोलमा १६ रुपैयाँ ८० पैसा घटेको थियो ।

यस्तै, साउन १ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यतिबेला पनि पेट्रोलमा लिटरमा १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९३ डलर हाराहारीमा रहेको छ । यो मूल्य अझै घट्ने अनुमान छ । दुई महिनाअघिसम्म प्रतिब्यारेल १२० डलर हाराहारीमा पुगेको थियो । भारतबाट लगातार तेस्रोपटक मूल्य घटेर आउँदा पनि निगमले भने संस्थालाई अझै घाटा रहनुका साथै आइओसीलाई तिर्नुपर्ने बक्यौता रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन ।


प्रतिकृया दिनुहोस्