सिरहा, साउन ५- पाँच वर्षसम्म गठबन्धन नतोड्ने भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र काँग्रेसका जनप्रतिनिधिहरुले कसम खाएका छन् । जिल्लाको सिरहा नगरपालिकामा गठबन्धनबाट जितेका वडाअध्यक्षहरूले पाँच वर्षसम्म गठबन्धन नतोड्ने भन्दै सप्तरीको कंकालिनी मन्दिरमा गएर कसम खाएका हुन् ।
सप्तरीको प्रसिद्ध धार्मिकस्थल कंकालिनी मन्दिर प्राङ्गणमा सिरहा नगरपालिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवको अध्यक्षतामा गठबन्धन दलको बैठक बसेको थियो । सिरहा नगरपालिकामा जम्मा २२ वटा वडामध्ये १५ वटामा गठबन्धन दलहरुले अध्यक्ष पद जितेका छन् । नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ७, ९, ११, १५, १७, १८, १९, २०, २१, २२ को वडाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका छन् ।
नगरपालिकाको मेयरमा एमालेबाट डा.नविनकुमार यादव र उपमेयरमा एमालेकै बबिता कुमारी साह निर्वाचित भएका छन् । वडाहरूमा सत्ता गठबन्धनकै बहुमत छ । मेयर यादवले नगरपालिका आफ्नो तरिकाले चलाउन खोजेपछि सत्ता गठबन्धनका वडाअध्यक्षहरू एकीकृत भएका हुन् ।