दोलखा, साउन २- दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित ‘श्री बिन्दावासिनी आधारभुत विद्यालय’का प्रधानाध्यापक भिम बहादुर कोइरालाले सार्वजनिक पदमा रहेर अनियमितता गरेको भन्दै उजुरी परेको छ ।
कालिनाग सामुदायिक वनको अध्यक्षमा आफै बसि चरम अनियमितता तथा ऐन बिपरित कार्य गरि सामाजिक रुपमासमेत दुख दिने गरेको भन्दै जिल्ला वन कार्यालय चरिकोटमा उजुरी परेको हो ।
स्थानीय निर्मल कुमार कोइरालाले जिल्ला वन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘भिम बहादुर कोइरालाले मनोमानी तवरले वन फडानी गरि रुख, विरुवा ढुंगालगायत बहुमुल्य बस्तुहरुको उत्खनन गरि बिगत लामो समयदेखि आफूखुसी बिक्रि वितरण गर्दै आएको र हालैको समयमा समेत सोहि स्थानमा बन्दै गरेको सामुदायिक भवनलाई पनि वन फडानी तथा उत्खनन गरि ढुंगा बेचबिखन गरेको पाइएकोले कडाभन्दा कडा कारबाही गरिदिनु हुन अनुरोध गर्दछु ।’
भिम बहादुरले विद्यालय निर्माण गर्दा पनि उक्त सामुदायिक वनको रुख तथा ढुंगा बिक्रि गरि आर्थिक अनियमितता गरेको निर्मल कुमारले आरोप लगाएका छन् ।
सार्वजनिक पद धारण गरेका भिम बहादुरले अनैतिक तवरले जबर्जस्ती आफूखुसी सिमाना तोकी पटक-पटक थर्काउने, धम्क्याउने गरेको भन्दै निर्मल कुमारले हदैसम्मको कार्वाहीको माग गरेका छन् ।
यता आफुलाई कारबाहीको मागको पत्र आएपछि भिम बहादुरले त्यसको खण्डन गरेका छन् । उनले सार्वजनिक सम्पत्ति ज्यादै दोहन भएको भन्दा विषयान्तर गरी सत्य घटनालाई राजनीतिकरण गर्ने प्रयास भएको बताएका छन् ।
निवेदक निर्मल कुमारले मैले नापेको छु भन्दै सयौ वर्षदेखि सार्वजनिक जग्गामा डोजर लगाएर कुलो बंग्याएर वर्षौदेखि क्रमिक रुपमा मिचेर सक्किन लाग्यो भन्दा आम उपभोक्ता, जनप्रतिनिधि, वन कार्यालयका प्रतिनिधिको रोहवरमा अब आइन्दा गर्दिनँ भनेर लिखित प्रतिबद्धता गरेको भिम बहादुरले स्मरण गरेका छन् ।
अनियमितताको बिषय उपभोक्ता तथा जनताको जन-जीवनसँग सम्बन्धित संवेदनशील सामाजिक विषय भएकाले नीति नियम र उपभोक्ताको सल्लाह बाहेक कुनै नराम्रो काम नभएको भन्दै सम्बन्धित निकायलाई छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका छन् ।