Hamro Sanchar

एकीकृत समाजवादीको निष्कर्ष : ‘वाग्मती सरकार छाड्नु परे अर्को प्रदेशमा नेतृत्व पाउनु पर्छ’

प्रकाशित : २०७९ असार, १८ गते


Advertisement

काठमाडौं, असार १८- नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले आफ्नो पार्टीले अहिलेझैँ कम्तीमा दुई प्रदेशको नेतृत्व पाउनुपर्ने निष्कर्ष निकालेको हो । नेता–कार्यकर्ताको व्यवस्थापनका लागि सबै पार्टीले अहिलेझैँ प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको धारणा छ ।

“काहीँ न काहीँ अवसरहरूको बाँडफाँड त हुन्छ नि ! वाग्मती नभए अर्को ठाउँमा होला । दुई ठाउँमा हाम्रा अहिले मुख्यमन्त्रीहरू हुनुहुन्छ, १ नम्बर र वाग्मतीमा । यस्तै अरू कहीँ दुई ठाउँमा पाउनुपर्ने होला,” बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, “कांग्रेसको पनि दुई ठाउँमा छ, उसले पनि चेन्ज गरेर दुई ठाउँमा लिने इस्यु मिलाऔँ भन्ने छ ।”

केन्द्रीय सत्ता गठबन्धनका दलहरूबीच छलफल गरेर सातै प्रदेशका बारेमा एउटा धारणा बनाउनुपर्ने उनले बताए ।

यस्तै समाजवादीको संसदीय दलको बैठकले पनि मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

वाग्मतीमा प्रदेश सरकार परिवर्तनको कसरत गरिएको छ । एकीकृत समाजवादीले वाग्मती सरकारको नेतृत्व गरेको छ । राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।

पाण्डेलाई पदबाट हटाउन सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरूले हस्ताक्षर संकलन गरेका छन् ।


प्रतिकृया दिनुहोस्