Skip

Hamro Sanchar

यू–१९ क्रिकेटमा बागमतीको धमाका, मधेशले पनि मार्‍यो बाजी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

१३ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा मधेश र बागमती प्रदेशले विपक्षी टोलीलाई पराजित गर्दै आफ्नो प्रभाव देखाएका छन्।

धनगढीस्थित फाप्ला मैदानमा मधेशले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले स्तब्ध बनायो। पहिले ब्याटिङ गरेको मधेशले अनिलकुमार यादवको ५० रनको मद्दतमा १६५ रन जोडेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ४७.२ ओभरमा १५१ रनमै रोकिएपछि मधेशले जित आफ्नो पक्षमा पार्‍यो।
यता महेन्द्रनगरमा बागमतीले कोशी प्रदेशमाथि एकतर्फी जित दर्ता गर्‍यो।

बागमतीले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा कोशीको ब्याटिङ धराशायी बन्यो। टोली २२.५ ओभरमै ९४ रनमा समेटियो।

बागमतीको जितमा कप्तान प्रसिद्ध जैसीले ५४ रन बनाएर ब्याटिङमा योगदान दिए भने बलिङतर्फ अनुज ठकुरीले पाँच विकेट लिए। साइमन पन्तले पनि चार विकेट झार्दै कोशीलाई दबाबमा राखे।

आइतबारका दुवै खेलमा जित निकालेसँगै मधेश र बागमतीले प्रतियोगितामा विजयी यात्रा थालेका छन्।


प्रतिकृया दिनुहोस्