काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर)भएको नाटक गर्दै दुई लाख रुपैयाँ असुल्न खोज्ने पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ओखलढुंगाका टेकराज श्रेष्ठ, रामेछापका इन्द्रबहादुर भुजेल, पाल्पाका धीरज रानाभाट, सिन्धुपाल्चोकका खेलबहादुर मगर र हर्कसिंह भोलान रहेका छन्।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मंसिर १० गते काँडाघारी प्रहरी प्रभागमा सोधपुछका लागि बोलाइएका एक युवकका भाइलाई आफूहरू प्रहरी निरीक्षक भएको भन्दै दुई लाख रुपैयाँ दिए युवकलाई छुटाइदिने प्रलोभन देखाइएको थियो।
रकम दिन अस्वीकार गरेपछि उनीहरूले फोन र म्यासेजमार्फत धम्कीसमेत दिएको खुलेको छ।
होटलको बिल तिर्नसमेत अस्वीकार गरेपछि घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका पाँचै जना गुन्डागर्दी, लुटपाटलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ।

























