Skip

Hamro Sanchar

सरकारका हरेक काण्ड खोतल्न कार्यकर्तालाई गगनको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै जनताका मुद्दामा निरन्तर आवाज उठाउन पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

सानेपामा आयोजित ‘हामी तयार छौँ अभियान’ अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले सरकारले गरेका घोषणा कार्यान्वयन भए–नभएको खोजी गर्नुपर्ने बताएका हुन् ।

उनले सुकुम्बासी समस्या, विपद् प्रभावित नागरिकको अवस्था, सहकारीपीडितको बचत फिर्ता र दलित समुदायसँग गरिएका प्रतिबद्धताका विषयमा सरकारसँग जवाफ माग्नुपर्ने बताए ।

घोषणा गरेर ताली पाउने तर त्यसलाई व्यवहारमा उतार्न नसक्ने अवस्थालाई प्रतिपक्षले चुपचाप हेर्न नमिल्ने उनको भनाइ थियो ।

थापाले प्रधानमन्त्री कार्यालयको दुरुपयोगसँग जोडिएका प्रकरणहरूबारे समेत गहिरो अध्ययन गर्न पार्टीका प्रतिनिधिलाई निर्देशन दिए । यस्ता विषयमा तथ्य बुझेर जनतामाझ पुर्‍याउनुपर्ने उनले बताए ।

यसैबीच, थापाले २०४६ सालदेखि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत अघि सारेका छन् ।


प्रतिकृया दिनुहोस्