१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् ।
इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेख गरिएका विषयलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै शर्माले प्रधानमन्त्रीसँग घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको र नमाने फसाइदिने धम्की दिइएको भन्ने उजुरीमा उल्लेखित विषयको सत्यतथ्य के हो भन्दै प्रश्न गरेका छन् ।
उक्त उजुरी झुटो हो वा राज्यकै आडमा अपराधका योजना बनिरहेका छन् भन्ने विषयमा समेत स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
शर्माले इनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्र नराखी यससँग जोडिएका सबै व्यक्ति र गतिविधिको सत्यतथ्य नागरिकले जान्न पाउनुपर्ने बताएका छन् ।
उनले घटनाको वास्तविकता बाहिर ल्याउन संसद्ले अग्रसरता लिँदै निष्पक्ष र पारदर्शी छानबिन गराउनुपर्नेमा जोड दिएका छन् ।
उनले पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै घटनाका सबै पक्ष सार्वजनिक गर्न माग गरेका छन् ।

























