काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै विदेश जाने युवालाई आवश्यक सूचना, परामर्श तथा कानुनी सहायता उपलब्ध गराउने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजनाको चौथो चरण सञ्चालन हुने भएको छ।
परियोजना सञ्चालनको तयारीस्वरूप शुक्रबार नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीसहित सरोकारवालाबीच छलफल भएको छ। नेपाल सरकार र स्विस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास (स्विस इन्टरकोअपरेसन) को प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने उक्त परियोजना सहयोगी संस्थामार्फत सञ्चालन गरिने नगरप्रमुख कार्कीले जानकारी दिए।
नगरप्रमुख कार्कीले वैदेशिक रोजगारीमा जाने युवालाई विदेश जानुअघि नै सही सूचना, आवश्यक परामर्श र कानुनी प्रक्रियाबारे जानकारी उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताए। वैदेशिक रोजगारीका क्रममा देखिने ठगी, आर्थिक शोषण, कानुनी जटिलता तथा अन्य जोखिम न्यूनीकरण गर्न स्थानीय तहमै सूचना र परामर्शको पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ छ।
उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुका साथै विदेशबाट फर्किएका नागरिकको सीप, अनुभव र क्षमतालाई स्वदेशमै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। नगरपालिकाले सम्बन्धित निकाय र सहयोगी संस्थासँग समन्वय गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ।
सामी हेल्भेटास परियोजना कार्यक्रम अधिकृत उमा पौडेलका अनुसार परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्ने युवालाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी परामर्श, कानुनी सहायता तथा विदेशबाट फर्किएका व्यक्तिका लागि सामाजिक पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी सुरक्षित आप्रवासनसम्बन्धी सूचना तथा परामर्श केन्द्र स्थापना गरी नागरिकको सूचनामा पहुँच अभिवृद्धि गर्ने, विदेश जानुअघि आवश्यक प्रक्रिया, सीप, कानुनी व्यवस्था, सम्भावित जोखिम र अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यक्रम सञ्चालन गरिनेछ।
कागेश्वरीबाट ५४१ जनाले लिए श्रम स्वीकृति
परियोजनासम्बन्धी छलफलमा प्रस्तुत तथ्यांकअनुसार कागेश्वरी मनोहरा नगरपालिकाबाट वैदेशिक रोजगारीका लागि ५४१ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये १६३ जना महिला र ३७८ जना पुरुष रहेका छन्।
काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्याका आधारमा कागेश्वरी मनोहरा छैटौँ स्थानमा रहेको छ। जिल्लाका स्थानीय तहबाट कुल ८ हजार ९७४ जनाले श्रम स्वीकृति लिएको तथ्यांक प्रस्तुत गरिएको छ।
जिल्लामा सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट २ हजार ९९९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि बूढानीलकण्ठबाट ९७८, चन्द्रागिरिबाट ८८०, गोकर्णेश्वरबाट ६०८, दक्षिणकालीबाट ५६३ र कागेश्वरी मनोहराबाट ५४१ जनाले श्रम स्वीकृति लिएका छन्।
प्रस्तुत विवरणअनुसार नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ८७ लाख नाघिसकेको छ। पछिल्लो तथ्यांकमा दैनिक औसत २ हजार २०० भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ। मुलुकभित्र सीमित रोजगारीका अवसर तथा आर्थिक अवस्थाका कारण नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षण बढिरहेको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्यमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन्।
वैदेशिक रोजगारीमा समस्यामा परेकालाई सहयोग
वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा अन्य समस्यामा परेका श्रमिक र उनीहरूका परिवारलाई सहयोग गर्ने कार्यक्रमसमेत परियोजनाको महत्वपूर्ण पक्ष रहेको छ।
वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को काठमाडौं जिल्लासम्बन्धी कल्याणकारी सहायता विवरणमा कागेश्वरी मनोहरा नगरपालिकाका एक जना श्रमिक अंगभंग भएको र त्यसबापत सात लाख रुपैयाँ सहायता प्राप्त भएको उल्लेख छ। त्यस्तै एक जनाको शव झिकाउने तथा छ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको विवरण प्रस्तुत गरिएको छ।
यसले वैदेशिक रोजगारीमा जाने व्यक्तिका साथै विदेशमा समस्यामा परेका श्रमिकका परिवारलाई समेत आवश्यक सहयोग र परामर्शको आवश्यकता रहेको देखाउँछ।


























