काठमाडौं । रुसले युक्रेनका विभिन्न सहर तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको छ।
बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म भएको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्।
आक्रमणबाट राजधानी किएभका निपर नदीमाथिका पुलमा क्षति पुगेको छ भने देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित बनेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसले ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये २७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र थिए।
जापोरिझिया क्षेत्रको एक अस्पतालमा समेत आक्रमण हुँदा एकजनाको मृत्यु भएको छ।
क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने केर्च पुलमा युक्रेनले क्षति पुर्याएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा जवाफ दिने चेतावनी दिएका थिए। त्यसको केही घण्टापछि रुसले आक्रमण गरेको हो।

























