काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ।
बिहान करिब ९ बजे एक्कासि खसेको पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताएका छन्।
पहिरो खसेको स्थान फराकिलो पाखो क्षेत्रमा रहेकाले तत्काल जोखिम नरहेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनामा मानवीय क्षति भएको छैन। पहिरोको धुलो सडकसम्म आइपुगेको छ भने अवस्था बुझ्न प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ।

























