काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्।
जुरीले उनलाई प्रथम श्रेणीको हत्या तथा शव लुकाएको र अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो।
करिब ६ हप्ताको सुनुवाइपछि आएको फैसलाअघि भट्टले ममताको शव टुक्राटुक्रा पारेको र फ्याँकेको स्वीकार गरे पनि हत्या आफूले नगरेको दाबी गरेका थिए।
जुलाई २०२४ मा आफ्नै घरबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन।
अभियोजन पक्षका अनुसार भट्टले शव भर्जिनियाको ल्यान्डफिलमा फ्याँकेका थिए।
हत्यामा उनलाई २० वर्षदेखि जन्मकैदसम्म र अन्य अभियोगमा थप पाँच वर्षसम्म सजाय हुन सक्छ।
उनलाई आगामी मार्चमा सजाय सुनाइनेछ। फैसलापछि ममताका साथी तथा नेपाली समुदायले न्यायको स्वागत गरेका छन्।
























