काठमाडौं । नेपाल सरकारसँगको सहलगानीमा निर्माण भइरहेको गोठाटार–भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा मनोहर चापागाईं पुनः सर्वसम्मत निर्वाचित भएका छन्। समितिको चौथो अधिवेशनबाट चापागाईंको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोला चापागाईं, उपाध्यक्षमा लवराम दाहाल, महिला उपाध्यक्षमा नानीमैया चापागाईं, सचिवमा द्वारिका तिमिल्सिना र सहसचिवमा पुरुषोत्तम लामिछाने निर्वाचित भएका छन्।
त्यसैगरी, वरिष्ठ सदस्यमा धर्मेन्द्र चापागाईं र प्रवक्तामा रामहरि गोतामे चयन भएका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले गोठाटार–भैमाल खानेपानी आयोजनालाई समयमै सम्पन्न गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउन कडा निर्देशन दिएका छन्। उनले विस्तार गरिएका पाइपलाइनमार्फत अबको एक महिनाभित्र पानी वितरण सुरु गर्न निर्देशन दिँदै तोकिएको समयमा काम नभए नगरपालिकाले आवश्यक हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।
नगरप्रमुख कार्कीले खानेपानी आयोजना नगरपालिकाको प्रतिष्ठा र नगरवासीको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै निर्माण भएका संरचनालाई प्रयोगमा ल्याएर नागरिकलाई खानेपानी उपलब्ध गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए।
पानी वितरणका लागि आवश्यक जनशक्ति अभाव भए नगरपालिकाले नै जनशक्ति खटाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजना सम्पन्न गर्न नगरपालिका पूर्ण रूपमा तयार रहेको बताए।
उनले भने, ‘हामी सबै जना लाग्यौँ भने यहाँ न स्रोतको अभाव हुन्छ, न प्रतिबद्धताको। उपभोक्ता समिति, पदाधिकारी तथा सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ। स्थानीय सरकार यहाँ छ। आवश्यक समन्वय र सहयोगका लागि नगरपालिका तयार छ।’
नगरप्रमुख कार्कीले निर्वाचनका बेला नगरवासीसमक्ष गरेको प्रतिबद्धताअनुसार खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
करिब २ अर्ब रुपैयाँ लगानीमा आयोजना निर्माण हुँदै
वि.सं. २०७२ सालमा नेपाल सरकारबाट स्वीकृत भई प्रारम्भिक रूपमा २५ करोड रुपैयाँ लागत अनुमानसहित अघि बढेको गोठाटार–भैमाल खानेपानी आयोजना सहलगानीमा सञ्चालन भइरहेको आयोजना हो। आयोजनामा करिब १ अर्ब ८० करोड रुपैयाँ लगानी रहेको छ भने निर्माण सम्पन्न हुँदासम्म कुल लगानी करिब २ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
यसअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकामा मात्रै करिब ३५ करोड ३९ लाख रुपैयाँ लागतमा भैमाल–गोठाटार सहलगानी खानेपानी आयोजना (प्याकेज–३) निर्माण हुने भएको छ। संघीय आयोजना भए पनि यसको कार्यान्वयनलाई गति दिन नगरपालिकाले समेत उल्लेख्य बजेट लगानी गर्दै आएको छ।
नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ का बासिन्दालाई स्वच्छ, सुरक्षित र सहज खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित अघि बढाइएको यस आयोजनाबाट ८ हजार २७३ घरधुरीका ४० हजार ४०५ जना लाभान्वित हुनेछन्।


























