२० कार्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ।
प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत खुला प्रतियोगितामार्फत १०औँ तहदेखि पाँचौँ तहसम्मका पदमा कर्मचारी माग गरेको हो।
सूचनाअनुसार १०औँ तहमा प्रबन्धक एक जना, आठौँ तहमा सहायक निर्देशक एक जना, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना र सहायक प्रबन्धक तीन जना माग गरिएको छ।
त्यस्तै, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियरलगायतका पदमा पनि भर्ना खुलाइएको छ।
प्रदेशस्तरमा मिटर रिडिङ सुपरभाइजर, लेखापाल र सुपरभाइजर पदमा समेत कर्मचारी माग गरिएको प्राधिकरणले जनाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले शुक्रबारदेखि आगामी मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन्। थप विवरण प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।




























