काठमाडौँ । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
आज दिउँसो १२ बजेसम्म जलाशयको सतह १ हजार ५२८.१५ मिटर पुगेको छ। आज साँझ ४ बजेसम्म पानीको सतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।
जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ। पानीको सतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसतर्कताका लागि साइरन बजाउने र एसएमएसमार्फत सूचना पठाउने तयारी गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार मौसममा सुधार हुँदै गए पनि जलाधार क्षेत्रमा भारी वर्षा भए बाँधको सुरक्षाका लागि मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्छ।
त्यसैले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।

























