Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकारमाथि प्रहरीको धरपकडविरुद्ध महासंघ आक्रामक, आन्दोलनको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

१३ कार्तिक, काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने प्रहरीको कार्यप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिमेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक शिरोज बर्नवाललाई गैरकानुनी रूपमा पक्राउ गरिएको जनाएको छ।

त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै नियन्त्रणमा लिने प्रयास गरिएको घटनाप्रति पनि महासंघले निन्दा र खेद व्यक्त गरेको छ।

महासंघका अनुसार मैनालीलाई पक्राउ गर्न आएको प्रहरी साँझ ५ बजेदेखि ७ बजेसम्म कार्यालयमै बसेको थियो।

महासंघका महासचिव रामप्रसाद दाहालसहितको दबाबपछि प्रहरी पछि हटेको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका पत्रकारहरूलाई आजै साँझसम्म रिहा गरिएको पनि महासंघले जनाएको छ।

यसैगरी, दियाे पोस्टका पत्रकार सुदीप विश्वकर्मालाई समेत पक्राउ गर्न निगरानी गरिएको जानकारी प्राप्त भएको महासंघको भनाइ छ।

समाचारको विषयमा समस्या भए विधिसम्मत समाधान खोज्नुपर्नेमा राज्य आतंक सिर्जना गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कार्य भएको महासंघले ठहर गरेको छ।

महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर प्रहरीले राज्यसत्ताको आडमा स्वेच्छाचारी कदम चालेको भन्दै कडा भर्त्सना गरेको छ।

साथै, आम पत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्य आतंकविरुद्ध खबरदारी गर्न आह्वान गर्दै पत्रकारमाथिको धरपकड नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

 


प्रतिकृया दिनुहोस्