काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यहरूले लामो समयदेखि बन्द रहेको कार्यालयको ताला खोलेका छन्।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन्।
कार्यालयको ताला खोलेसँगै आगामी कात्तिक १३ गते कार्यसमितिको बैठक बस्ने घोषणा गरिएको छ।
बैठकमा फिफाको प्रतिबन्ध, सरकारसँगको सहकार्य र निर्वाचनमा देखिएका अवरोध हटाउने विषयमा छलफल हुनेछ।
एकतिहाइभन्दा बढी सदस्यले बैठक बोलाउन माग गरेको २१ दिनसम्म पनि बैठक आह्वान नभएपछि २२औँ दिनमा ताला खोलिएको खड्काले बताए।
उनले अध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई बैठकमा उपस्थित भएर नेपाली फुटबलको समस्या समाधान गर्न आग्रह गरेका छन्। बैठकको उद्देश्य कसैलाई हटाउनु नभई फुटबल क्षेत्रलाई विवाद र प्रतिबन्धबाट निकास दिनु रहेको उनको भनाइ छ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबल क्षेत्र प्रभावित हुँदै आएको छ।































