९ कार्तिक, खोटाङ । खोटाङमा एक व्यक्तिले आफ्नै ससुरालीमा धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित ४ जना घाइते भएका छन्।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सोमबार हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले धारिलो हतियार प्रहार गरेका हुन्।
आक्रमणबाट उनकी श्रीमती ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, नरेन्द्र राई र २५ वर्षीया तेनिना राई घाइते भएका छन्।
अन्जनाको टाउकोको पछाडिको भागमा, स्यामाउनको टाउको र दाहिने हातमा तथा तेनिनाको टाउकोमा चोट लागेको छ।
उनीहरू तीनैजनाको अवस्था गम्भीर छ। नरेन्द्रको दाहिने हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते चारैजनाको नगर अस्पताल दुर्छिममा उपचार भइरहेको छ। घटनामा संलग्न नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ।































