काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गा पूजा पण्डालमा भएको भागदौडमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। घटनामा महिला तथा बालबालिकासहित दर्जनौँ मानिस घाइते भएका छन्।
चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा शनिबार साँझ करिब ७ः३० बजे भागदौड भएको हो। ९१ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त पूजामा यसअघि यस्तो गम्भीर दुर्घटना नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले सुरुमा १७ जनाको मृत्यु भएको जानकारी दिएका थिए। पछि थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या १९ पुगेको हो। घटनामा घाइते भएका २४ जनाको अवस्था खतरामुक्त रहेको र एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि मुख्यमन्त्री अधिकारीले आफ्ना सबै निर्धारित कार्यक्रम रद्द गरेका छन्। भारतीय गृहमन्त्री अमित शाहको प्रस्तावित भ्रमणसमेत स्थगित गरिएको छ।
मुख्यमन्त्रीले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्। साथै, प्रत्येक मृतकका परिवारका एक सदस्यलाई रोजगारी दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने जनाएका छन्। घाइतेलाई जनही पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने पनि घोषणा गरिएको छ।
दुर्घटनामा अधिकांश महिला तथा बालबालिकाले ज्यान गुमाएको बताइएको छ। घटनाको निष्पक्ष छानबिनका लागि कोलकाता उच्च अदालतका न्यायाधीशमार्फत अनुसन्धान गरिने मुख्यमन्त्रीले जानकारी दिएका छन्।
कोलकाता प्रहरीले घटनास्थलको सीसीटीभी दृश्य जाँच गरिरहेको छ। घटनामा कसैको लापरबाही पुष्टि भए दोषीलाई कानुनी कारबाही गरिने सरकारले जनाएको छ।































