१ कार्तिक, काठमाडौं । दसैँको किनमेलका क्रममा ३ हजार रुपैयाँको सामान खरिद गरेकी नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको बम्पर पुरस्कार तामाङलाई परेको हो।
तामाङले दसैँका बेला नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामग्री खरिद गरेकी थिइन्। सोही खरिदको बिलबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत छनोट भएपछि उनले १० लाख रुपैयाँ जितेकी हुन्।
काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए। विजेता घोषणा भएलगत्तै कलाकारद्वयले तामाङलाई फोन गरेर पुरस्कार परेको जानकारी दिएका थिए।































