काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा कबिर शर्मा निर्विरोध निर्वाचित भएका छन्। शर्माको नेतृत्वमा २२ सदस्यीय क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।
शुक्रबार सम्पन्न अधिवेशनले क्षेत्रीय कार्यसमितिदेखि प्रदेश तथा महाधिवेशन प्रतिनिधिसम्म सर्वसम्मत चयन गरेको हो। जसअन्तर्गत क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (क) को सभापतिमा पुष्कर बस्ताकोटी र प्रदेशसभा (ख) को सभापतिमा सिताराम आचार्य निर्विरोध निर्वाचित भएका छन्। दुवै प्रदेश कार्यसमिति पनि १८–१८ सदस्यीय रहने गरी सर्वसम्मत चयन भएका हुन्।
यससँगै क्षेत्र नं. २ बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा २५ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३४ जना समेत सर्वसम्मत चयन भएका छन्।
क्षेत्रीय कार्यसमितिमा सभापतिसँगै सचिवमा कृष्णराम रायमाझी, सह–सचिवमा अन्जु कार्की र भास्कर श्रेष्ठलगायत निर्विरोध चयन भएका छन्।
क्षेत्रीय कार्यसमितिमा विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको छ। यसमा महिला, युवा महिला, प्रदेश (क/ख), खुला तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्व समेटिएको छ।
यसरी काठमाडौं क्षेत्र नं. २ मा अधिवेशनअन्तर्गत नेतृत्व चयनका अधिकांश प्रक्रियामा प्रतिस्पर्धात्मक निर्वाचनको सट्टा सर्वसम्मत नेतृत्व चयन भएको छ।
काठमाडौं–२ नेपाली कांग्रेसका लागि महत्वपूर्ण संगठनात्मक क्षेत्रका रूपमा रहँदै आएको छ। कबिर शर्मा यसअघि पनि क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिकामा रहेका थिए।
































