काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्। उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
विमानस्थलमा प्रधानमन्त्री बालेनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरे।
प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन न्युयोर्क गएका थिए। उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा उनले नेपालमा हालै आएको भीषण बाढीको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउँदै ‘हिमाली सुनामी’बाट भएको विपत्तिबारे ध्यानाकर्षण गराएका थिए।
महासभाका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग पनि भेटवार्ता गरेका थिए।
































