Skip

Hamro Sanchar

अन्तरिक्षमा पनि हतियार !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३० गते


Advertisement

३० भदौ, काठमाडौं । अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको खुलासा भएको छ।

अमेरिकी सेनाले पृथ्वीको कक्षमा हतियार राखिएको सोमबार पहिलो पटक स्वीकार गरेको हो।

‘शत्रुको कारबाहीबाट रक्षा गर्न सक्षम हतियार अमेरिकासँग अन्तरिक्षमा छ,’ एयर फोर्स सेक्रेटरी ट्रोय माइंकले मेरिल्यान्डमा आयोजित एक सम्मेलनमा भने।

उनले सो हतियार कस्तो प्रकृति र क्षमताको हो, अनि हतियार कहिले अन्तरिक्षमा राखिएको हो, त्यो चाहिँ खुलाएनन्।

वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले यसअघि पनि रुस र चीनले भविष्यमा अमेरिकी स्याटलाइटहरूमाथि आक्रमण गर्न सक्ने भन्दै अन्तरिक्षमा हतियार राख्ने योजना बनाइएको बताएका थिए।

ट्रम्प सत्तामा आएपछि अमेरिकाले ‘गोल्डेन डोम’ नामक प्रतिरक्षा प्रणाली विकासको तयारी गरिरहेको छ। अन्तरिक्षमा तैनाथ हतियार त्यसको महत्वपूर्ण हिस्सा भएको ट्रम्प प्रशासनले बताएको छ।

१९६७ को एउटा सन्धिले अन्तरिक्षमा विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको छ। त्यसैले अमेरिका, रुस र चीनले सन्धिले प्रतिबन्ध लगाएको बाहेकका हतियार विकासको प्रयास गर्दै आएका थिए। तर, गत वर्ष ट्रम्पले यूएस स्पेस फोर्सलाई आक्रमणको अधिकार दिनेगरी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

कतिपय सैन्य विश्लेषकहरूले अमेरिकाले केही समय पहिले नै अन्तरिक्षमा हतियार राखेको बताउँदै आएका थिए। यसपटक अमेरिकाले खुलेआम यो स्वीकार गरेपछि शक्ति राष्ट्रहरूबीच अन्तरिक्षमा हतियार राख्ने होड चल्ने चिन्ता बढेको छ।

यो खबर सार्वजनिक भएलगत्तै चीनले अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता कुओ जियाकुनले अन्तरिक्षमा हतियारको प्रतिस्पर्धा रोक्न आग्रह गरे ।


प्रतिकृया दिनुहोस्