३० भदौ, काठमाडौं । यमनको विद्रोही समूह हुथीले सोमबार २४ घण्टाभित्र साउदी अरेबियाले यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेको छ।
हुथीहरू लाल सागरको तटमा द्रुत गतिमा अगाडि बढिरहेका बेला उक्त दाबी आएको हो।
हुथीका सैन्य प्रवक्ता याह्या सारीले विज्ञप्तिमा भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु विमान प्रयोग गरेर यमनका क्षेत्रहरूलाई निसाना बनाइएको छ। तैज, लाहज, जवफ, मारिब र होदेइदाह क्षेत्रमा हवाई हमला गरिएको हो।’
बीबीसी फारसीका अनुसार हुथीहरूले सोमबार साउदी अरेबियाका सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरिएको दाबी पनि गरेका छन्।
हुथीका अनुसार हालैका दिनहरूमा उनीहरूले लाल सागरको तट र बाब अल-मन्डेब स्ट्रेटमा नियन्त्रण प्राप्त गरेका छन्।
हालै यस समुद्री मार्गको रणनीतिक महत्त्व बढेको छ, किनकि अमेरिका-इरान युद्ध सुरु भएयता हर्मुज स्ट्रेट प्रभावित छ ।































